संक्षिप्त परिचय

बनेपाको भौगोलिक परिवेश

पूर्वमा 'रक्तचन्दन' भनिने चण्डेश्वरीजङ्गल, उत्तरमा थागु (माथिको) जङ्गल र दक्षिणमा क्वःगु (तलको) जङ्गलको पृष्ठभूमिमा काठमाडौंबाट करिब २५ कि. मि. पूर्व समुद्री सतहदेखि ४८०० फिट उचाइमा अनि २७.३७ डिग्री अक्षांश र ८१.३१ डिग्री देशान्तरमा रहेको एउटा सानो तर रमणीय उपत्यकामा अवस्थित प्राचीन नगरी बनेपा ऐतिहासिक र धार्मिक क्षेत्र हो । पूर्वमा चण्डेश्वरीखोला, पश्चिमबाट दक्षिण हुदै पूर्वतिर बगिरहेको पुण्यमाताखोला अनि पहाड र पर्वत र स-साना गाउहरूले घेरिएको करिब ६.३१ वर्ग कि. मि. परिधिमा सागा, नाला, धुलिखेल, श्रीखण्डपुर, चौकोट र पनौतीका बीचमा अवस्थित बनेपा काभ्रेपलाञ्चोक जिल्लाको महत्वपूर्ण व्यापारिक केन्द्र पनि हो । 'बने' ले व्यापार र 'पा' ले बस्ती भन्ने बुझाउछ । त्यसैले बनेपा व्यापारीहरूको थलो हो ।

बनेपा शब्दको व्युत्पति र यसको इतिहास

बनेपा सहर वणिर्पुर, बनेकापुर, बनेपुर, ब्यनेपे, बिन्यापा, विनयापुरी, विनायकपुरी, वनिंयप्य भनिँदै पछि 'बनेपा' हुन आएको हो । नेवार समुदायमा यस सहरलाई भोंदे अथवा भ्वत पनि भन्ने गरिन्छ । भोटसँग पहिल्यैदेखि राम्रो व्यापारिक सम्बन्ध भएका कारणले यसलाई भोंदे अथवा भ्वत भनिएको हुनर्पर्छ । बनेपालाई 'भुज' पनि भन्ने गरिन्थ्यो । बनेपामा रहेको लिच्छविकालीन शिवदेव अंशुवर्माको अभिलेखमा यसको चार किल्ला खुलाउदा 'चन्द्रेश्वर (चण्डेश्वरमहादेव) ङ ग्रामस्तत' उल्लेख भएकाले बनेपा नै भुजङग्राम हुनुपर्ने देखिन्छ । 'ङ ग्राम' भनी उल्लेख भएको यो ठाउ किरातकालमा नै गाउका रूपमा विकसित भइसकेको हुनुर्पर्दछ । किनभने नालङ, साङ, खोप्रिङ आदि ङ, ∙ आएका बस्तीहरूले ती बस्तीहरू किरातकालीन हुन् भन्ने बुझाउछन् । राजा अभय मल्लको शासनकालको चागुनारायणको भण्डारभित्रको ने. सं. ३५७ को एउटा ताडपत्रमा बनेपालाई 'बनिंयप्य' उल्लेख गरिएको छ । त्यस्तै, बनेपाका राजा जयार्जुनदेवको नाम उल्लेख भएको ने. सं. ४८५ को एउटा ताडपत्रमा यस सहरलाई 'विनयापुरी' उल्लेख गरिएको छ ।

बनेपा निर्माण हुदाको रूप

बनेपामा पहिले 'भोलाखा’ भन्ने बस्ती मात्र थियो रे । तर कलिगत वर्ष४१९७ अर्थात् वि. सं. ११५९ मा पूर्व मध्यकालीन राजा आनन्ददेवले बनेपावरिपरिका स-साना बस्तीहरू भोलाखाबस्तीसँग मिलाई नया बनेपाको निर्माण गर्दा आठ दिशामा आठ गणेशहरू दिक्पालका रूपमा प्रतिष्ठापन गरी प्रत्येक गणेशको मन्दिरसमीप ढोका, पोखरी र पाटी बनाइदिएका थिए । त्यसैले मल्लकालदेखि नै बनेपामा यी आठैवटा गणेशहरूसँग सम्बन्धित एउटा-एउटा दाफा भजन हुन्थे । यस ठाउका मानिसहरू बिहान-बिहान पोखरीमा मुख धोई पाटीमा बसेर भजन गर्दै देवीदेवताको आरती गर्थे । मानिसहरू विहान-विहान देवदेवीहरूप्रति आस्था राखी शुद्ध चित्तले जीवनयापन गर्दथे र बेलुकी पनि पाटीमा बसेर भजन गरी आनन्दपूर्वक जीवन बिताउथे । तर हाल केही पोखरीहरू र्सार्वजनिक कामका लागि प्रयोग भइसकेका छन्, केही पाटीहरू हराइसकेका छन् र चारवटाजति दाफा भजनहरू मात्र चलिरहेका छन्                                              ।

बनेपा निर्माण गर्दाको संरचना अत्यन्तै वैज्ञानिक किसिमको थियो । घाम र हावाको सन्तुलन मिलाउनका लागि ठाउठाउमा ननि (चोक) हरू, पानीको व्यवस्था मिलाउन ढुङ्गेधारा र इनारहरू, सांस्कृतिक कार्यक्रमहरू गर्न र नाटक देखाउन डबलीहरू राखी निर्माण गरिएको बनेपा अत्यन्तै व्यवस्थित थियो । यहा नौवटा ढुङ्गेधाराहरू, नौवटा ननि (चोक) हरू, नौवटा डबलीहरू र ९९ वटा इनारहरू थिए । यसरी ९ अङ्क पारेर निर्माण गरिएको बनेपानगरी लक्षणयुक्त छ भनी बूढापाकाहरू भन्दछन्, किनभने शास्त्रीय दृष्टिकोणले ९ अङ्क लक्षणयुक्त र फलदायी हुन्छ । तर धेरैजसो इनारहरू पुरिइसकेका छन्, ढुङ्गेधाराको पानीका मुहानहरू सुकिसकेका छन्, धेरै ठाउका ननि (चोक) हरू अतिक्रमणमा परिसकेका छन् ।

इतिहासका वर्द्धनहरू

'गोपाल राजवंशावली' मा उल्लेख भएअनुसार मल्लकालीन नेपालमा बनेपाक्षेत्रले राजनीतिमा ठूलो भूमिका खेलेको थियो र बनेपालीहरूको अगुवाइमा देशको राजनीतिमा उलटपुलटसमेत हुने गरेको थियो । त्यस्ता बनेपालीहरू विशेषतः राम वर्द्धनहरू थिए । ज्योतिराम वर्द्धन महामन्त्री थिए । उनले बनेपालाई एक स्वतन्त्र राज्य बनाउन प्रयत्न गरेका थिए । ज्योतिरामका छोरा अनेकराम पनि महामन्त्री थिए । अनेकरामपछि जयसिंहराम बनेपाका राजा जयार्जुनदेवका महामन्त्री भए । वि. सं. १४११ मा जयस्थिति मल्ललाई भक्तपुरमा भित्र्याइयो । केही समयपछि राजकुमारी राजल्लदेवीसित उनको विवाह भयो । त्यसपछि जयस्थिति मल्ललाई नेपालका राजा घोषणा गरियो । अनि जयसिंहरामले राजा जयार्जुनदेवलाई मान्नुर्पर्छ, बाहिरबाट आएका जयस्थिति मल्ललाई हामी राजा मान्दैनौं भनी ४-५ वर्षम्म पूर्वी भेगको नेतृत्व लिई ठूलो व्रि्रोह गरे । पछि जयार्जुनदेवको मृत्यु भयो । त्यसपछि जयस्थिति मल्लले जयसिंहरामलाई हातमा लिई आफ्ना महामन्त्री बनाए । जयस्थिति मल्लका महामन्त्री बनेपछि जयसिंहराम झन् शक्तिशाली बन्न पुगे                                            ।

जयसिंहराम वर्द्धन अत्यन्तै धर्मात्मा थिए । उनले इन्द्रेश्वरमहादेवका चारै मुखमा सुनौला खोल राखे, त्यस मन्दिरको छानामा सुनको मोलम्बा लगाए र इन्द्रेश्वरको हाताभित्र तुलानारायणको प्रतिष्ठापन गर्नुका साथै व्रि्र विद्वान्हरूलाई मूल्यवान् सामानहरू दान दिए । उक्त व्यहोरा ने. सं. ५२१ को पनौती इन्द्रेश्वरमन्दिरभित्रको सुवर्णपत्रमा उल्लेख छ । मुगलसम्राट सुल्तान समसुद्दीनको आक्रमणबाट ध्वस्त पारिएको पशुपतिनाथमन्दिरको पुनरुद्धार गरी ने. सं. ४८० मा जयसिंहरामले चारै वेदका आधारमा चतुर्मुखी पशुपतिनाथको मुर्ति बनाउन लगाएर शास्त्रीय विधिअनुसार प्रतिष्ठापन गरे । जयसिंहराम बनेपाली थिए । उनको दरबार बनेपाको भोलाखामा थियो । उनको दरबारलाई क्वाठ भनिन्थ्यो । हाल पनि त्यस ठाउलाई क्वाठ नै भन्ने गरिन्छ ।

सन् १४८२ मा भक्तपुरका राजा यक्ष मल्लको मृत्यु भयो । त्यसपछि यक्ष मल्लका साहिँला छोरा रण मल्ल बनेपाका राजा बने । रण मल्लको शासनकाल ने. सं. ६२२ मा देवी चण्डेश्वरीले बनेपाका धलंछे खलकका मोहनसिं मानन्धरलाई सुनको रागोको टाउको वर (प्रसाद) दिएको कुरा वंशावलीमा उल्लेख छ । तिनै मोहनसिंले पशुपतिनाथ महादेवलाई चढाएको एकमुखी रूद्राक्ष अद्यापि पशुपतिमन्दिरमा छ । रण मल्लपछि उनैका छोरा केशव मल्ल र केशव मल्लपछि कृष्ण मल्ल बनेपाका राजा भए । त्यसपछि बनेपा भक्तपुर राज्यसँग मिल्न गयो ।